पर्दाफास हुँदैछ सुन तस्करको जालो

?
सुन तस्करको जालो विस्तारै पर्दाफास हुन थालेको छ । गम्भीर अनुसन्धमा नभएकै कारण सुन तस्करीका घटनाहरु बढेको भन्दै आलोचना हुन थालेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध सुन बरामद गर्ने कार्यलाई तीव्र पारेसँगै थुप्रै तस्करहरुको पर्दाफास भएको छ ।

हालै प्रहरीले विशेष सुराकीको आधारमा रसुवा नाका हुँदै अवैध रूपमा राजधानी भित्रिएको ८८ केजी सुन काठमाडौंको क्षेत्रपाटीबाट बरामद गरेको थियो । उक्त सुनलाई भारत निकासी गर्ने तयारी भइरहेको थियो । अवैध रुपमा भित्र्याउँदै गर्दा बरामद गरिएको यो सुनको परिमाण हालसम्मकै सबैभन्दा धेरै हो । यसअघि, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ मा ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेको थियो । त्यस्तै, वैशाखमा नेपाल र चीनबीचको नाका तातोपानीमा १८ किलो सुन बरामद गरिएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा सुन तस्करीका घटनाहरुमा सरकारकै उच्च पदाधिकारी तथा प्रहरीकै समेत संलग्नता हुने गरेकाले सहजै निकासी हुने गरेको पत्ता लागेको छ । सुन तस्करीका लागि नेपाललाई ट्रान्जिटको रुपमा प्रयोग गर्ने गरिएको पाइएको छ । हङकङ, दुबई, थाइल्यान्ड, मलेशिया, कतार, चीन लगायतका मुलुकहरुबाट अवैध रुपमा ठूलो परिमाणमा सुन भित्रिने गरेको छ । जसमध्ये, अधिकांश मात्रामा सुन भारत निकासी हुने गरेको छ ।

नेपालमा सबैभन्दा बढी सुन तातोपानी नाका हुँदै ल्याउने गरिएको पाइएको छ । चीनसँग खुला सिमाना भएकाले बढी तस्करी हुने गरेको हो । यो मार्ग भई चीनबाट नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिट बनाई सुन तस्करी हुने गरेको आधिकारिक रुपमा २०७० मंसिरमा पुष्टि भएको थियो । त्यसबेला १७ किलो सुन तातोपानी भन्सार गेटमै बरामद भएको थियो । त्यसयता अहिलेसम्म १ सय भन्दा धेरै किलो सुन बरामद भइसकेको छ । यो नाका हुँदै तस्करी गर्न लागिएको ९ किलो सुन काभ्रेमा र ३५ किलो कोटेश्वरमा बरामद गरिएको थियो ।

पटकपटक गरेर प्रहरीले छोटो समयमा नै अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणमा सुन जफत गरिसकेको छ । प्रहरीले सुन समातिसकेपछि अभियुक्तलाई राजस्व अनुसन्धान विभागमा बुझाउने गर्दै आएको छ ।

राजस्व विभागले सुन राष्ट्र बैंकलाई जिम्मा लगाउँछ र अभियुक्तमाथि मुद्दा चलाउछ । विभागले राष्ट्र बैंकलाई सुन बुझाउँदा त्यो दिनको अन्तर्राष्ट्रिय मूल्यअनुसार सुनको मूल्यांकन गर्छ र मूल्यांकन भएको सुनको मूल्यबराबरको रकम सरकारको राजस्व खातामा भुक्तानी गर्छ । सुन भने राष्ट्र बैंककै गोदाममा थुपारिन्छ । सुनको शुद्धता राष्ट्र बैंकको टक्सार विभागमा परीक्षण गरिन्छ । राष्ट्र बैंकमा रहेको सुनलाई आवश्यक पर्दा फेरि राज्यले चलाउन सक्ने नियम छ । कहिलेकाहीँ आन्तरिक बजारको माग धान्न पनि यो सुन बिक्री गरिँदै आएको राष्ट्र बैंकले बताएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *