जहाज खरिदसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर, कोषले १२ अर्ब ऋण दिने

नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । कोषको कार्यालयमा आयोजित सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर  गर्नुभयो ।  सम्झौतानुसार कोषले एउटा जहाज खरिदका लागि रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । यसअघि कर्मचारी सञ्चय कोषसँग मात्रै त्यस्तो ऋण लिने सम्झौतामा हस्ताक्षर हुने गरेको थियो । 

निगमले भने दोस्रो चरणमा सञ्चय कोषसँग नै ऋण सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । लगानी कोषले उपलब्ध गराउने रकमको व्याजदर नौ प्रतिशत रहनेछ । जहाज खरिदका लागि प्रदान गरिने लगानी कोषको रकमको व्याजदर पहिलो व्यावसायिक उडान नभएसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरिएको छ । उक्त जहाज खरिदका लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ वर्ष राखिएको छ । 

उडान क्षेत्रको व्यावसायिक योजनामा लगानी कोषले निगमलाई ऋण दिने कार्य पहिलो पटक गरिएको हो । यसबाट प्रत्यक्ष रुपमा आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा पर्यटन क्षेत्रमा थप विकास हुने अपेक्षा गरिएको छ । 
कोषले उपलब्ध गराएको रकमबाट निगमले एयर बस कम्पनीको वाइड बडी(ए ३३०–२००) सिरिजको जहाज खरिद गर्नेछ । लगानी कोष र निगमबीच ऋण उपलब्ध गराउने विषयमा गत वैशाख अन्तिम साता सहमति भएको थियो । लगानी कोषका कार्यकारी निर्देशक पोखरेलले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि ५० जहाज जरुरी छ भन्दै आगामी दिनमा थप लगानीको अवसर खोजिने स्पष्ट पारे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *