लघुवित्तले ल्याएको परिवर्तन, पुरै गाउँ उद्यमशिल

बारा जिल्लाको भलही भरौलिया गाविस वार्ड नं. ८ को रजौटिया भनिने दुसाद बस्तीका महिलाहरुमा आज भोली बेग्लै ढंगको चहलपहल देखिन्छ । वीरगंजबाट कलैया जाने पक्की बाटोलाई छोडेर दक्षिण तिर लाग्ने बाङ्गोटिङ्गो कच्ची बाटो करीब ३ किलोमिटर हिँडेपछि पुगिने यो दुसाद गाउँमा कसैको पनि निजी जमिन छैन ।

सडकका छेउमा अनाधिकृत झुप्रा बनाएर पुस्तौं पुस्तादेखि जीवन निर्वाह गरी आएका यी खेतीहरु मजदुर अर्काका जमिनमा दैनिक ज्यालादारीमा काम गर्छन् । यी मध्ये केही पुरुष नजिकैको वीरगञ्ज शहरमा पुगेर पनि श्रम बेच्छन् र महिलाहरु पाएसम्म गाउँकै जमिन्दारका खेतबारीमा काम गर्छन् । दिनभरी सम्म श्रम गर्नु, साँझ परेपछि सस्तो मदिरा पिएर शरीरको थकाई र मनको अशान्ति बिर्सनु अधिकांश दुसाद पुरुषहरुको दिनचर्या हो । मौका पर्दा महिलाहरु समेत मदिरा पिउँछन् र राती अबेर सम्म होहल्ला समेत गर्छन्, यिनका सन्तान पढ्न जादैनन्, न त बिरामी पर्दा अस्पताल नै जान्छन् । सामन्ती वर्गीय विभाजन अनुसार कथित पानी नचल्ने जातमा परेका दुसाद तराई क्षेत्रका सबैभन्दा गरीब र पछि परेका समुदायमध्ये पर्छन् । 

यही समुदायमा निर्धन संस्था, प्लान नेपाल र निर्धन उत्थान बैंकको संयुक्त पहलमा तरकारी खेती परियोजनामा संलग्न भएका छन् भूमिहिन दुसाद ग्रामीण महिलाको परिवार । सन् २००५ देखि बारा जिल्लाका केही गा.वि.स.मा भाडामा जमीन लिएर त्यस गाउँका अति विपन्न परीवारलाई तरकारी खेतीमा संलग्न गराउने कार्यक्रम अन्तर्गत प्लान नेपालको अनुदान सहयोग, निर्धन संस्थाको व्यवस्थापन र निर्धन उत्थान बैंकको ऋण सहयोगमा एउटा संरचना तयार भएको छ ।

निर्धनले अहिले सम्म प्रतिवर्ष १ हजार रुपैयाँ भाडा तिर्ने गरी बाह्र कठ्ठा र प्रतिवर्ष ८ सय रुपैयाँ भाडा तिर्ने गरी ८ कठ्ठा जमीन लिएको छ र दश जना भूमिहीन महिला सदस्यहरुलाई २ कठ्ठाका दरले वितरण गरेको छ । प्लान नेपालले अनुदान मार्फत निर्धन संस्थाले ४० प्रतिशत् र व्यक्तिले ६० प्रतिशत् लगानी गर्नु पर्ने यस परियोजना उन्नत जातको तरकारी को बिऊ बिजन, सिचांई आदिको व्यवस्था उपलब्ध गराइएको छ । इण्टरनेशनल डेभलपमेन्ट इण्टरप्राइजेज (आइ.डी.ई.) फेयर ट्रेड ग्रुप –एफ.टी.जी.) जस्ता संस्था मेड नेपाल, आर. आर. ए.एफ.डी.सी. र महिला सम्वद्र्धन केन्द्र जस्ता संस्थाहरु समेत यस परियोजनामा निर्धन मार्फत काम गर्दै आएका छन् ।

प्रत्येक दुई कठ्ठाका दरले पर्ने गरी निर्धनका महिला सदस्यहरुलाई वितरण गरिएको यस जमीनमा मौसमी तरकारी खेती गरी त्यसको बिक्रीबाट आय आर्जनको बाटो खोज्ने प्रयत्न गरिएको छ । प्रत्येक सदस्यले जमीन, लघु सिंचाईको व्यवस्था र उन्नत जातको बिउ बिजन अनुदानका रुपमा निःशुल्क पाएका छन् भने आफ्ना तर्फबाट लगानी गर्नुपर्ने ६० प्रतिशत् अंश निर्धन उत्थान बैंकबाट ऋण स्वरुप पाउँछन् । 

भलाही भरौलिया गा.वि.स. वार्ड नं ८ रजौरिया (बारा) का दुसाद परिवारका लागि यस्तो तरकारी खेतीको अनुभव जीवनकै पहिलो घटना हो । वि.सं.२०६० सालदेखि तरकारी खेती गर्न थालेकी उमरावती देवी दुसादले भनिन् – 'बिहान सबेरै देखि बेलुका साँझ नपरे सम्म म त बारी मै  हुन्छु ।' 

वास्तवमा उमरावती देवी दुसादको मात्र होइन त्यहाँका प्रत्येक परिवारका कोही न कोही सदस्य बारी मै हुन्छन् । कोही विरुवा गोड्दै हुन्छन्, कोही पानी लगाउँदै हुन्छन् र कोही चाँही किटनाशक दवाई छिट्दै गरेका भेटिन्छन् । निर्धन उत्थान बैंकको सदस्यता नलिई यस्ता कुनै परियोजनामा संलग्न हुन नपाइने भएका कारण गत वर्षमात्र सदस्यता लिएका यी दुसाद परिवारमा निर्धनका पुराना सदस्यहरुमा जस्तो आत्मविश्वास पलाई सकेको अवस्था भने छैन तर जीवन प्रतिको अनौठो आशा पलाएको छ ।

दिनभरी मजदुरी गर्दा चार किलो धान वा एक सय रुपैयाँमा मजदुरी गरेका उनीहरु दुई कठ्ठा जमीन जोतखन गर्दा जीवन सजिलोसँग व्यतित हुने विश्वास गर्छन । घरका पुरुषहरु लोग्ने र छोराहरुले खनजोत गर्छन र अन्य महिला किटनाशक छर्ने र गोडमेलको काम गर्छन् । जमीनको छेउमा गाडिएका ढिकी पम्पबाट गाँउलेहरु आलोपालो सिंचाई गर्छन् । एक मौसममा तरकारी उत्पादन हुन सरदर तीन महिना लाग्छ र वर्षमा चार पटक मौसमी तरकारी उत्पादन गर्न सकिन्छ । नजिकको वीरगंज बजार तरकारी बेच्न सकिने उपयुक्त ठाउँ हो । 

जीवनमा सधै अर्काका लागी मात्र काम गरेका दुसाद बस्तीका गरीब गाउँले पहिलो पटक आफ्ना लागि काम गर्दैछन् । तरकारी खेती परियोजना अहिले सम्म भने परीक्षणमै छ यसको भविष्यबारे बताउन केही वर्ष पर्खनु पर्दछ तथापी प्रारम्भिक काम उत्साहजनक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *